Wednesday 3 October 2012

अध्यक्ष कमरेड प्रचण्डलाई खुलापत्र


म एउटा मध्यम वर्गको नेपाली युवक । म जन्मिएको ११ वर्षपछि तत्कालीन नेकपा माओवादीबाट जनयुद्धको उद्घोष भएको थियो । जनयुद्धको रापले सेकिएको समाजमा हुर्कँदा धेरै नयाँ चिजहरू अनुभव गर्न पाएँ । संस्कृतिले जोडेको समाजलाई कसरी राजनीतिले छिन्नभिन्न बनाउँदो रहेछ भन्ने देखें अनि समाज परिवर्तन गर्न हिँडेकाहरू स्वयम् परिवर्तन भएको दुर्लभ चित्र पनि देख्न पाएँ ।
विगत केही वर्षयता देखिँदै आएको घटनाक्रमका बारेमा हजुरहरूलाई धेरै पहिलेदेखि एउटा खुलापत्र लेख्छु भन्ने सोच्दै थिएँ तर, आज बल्ल साइत जुरेको छ । सकेसम्म सिलसिला मिलाएर लेख्ने मेरो प्रयास रहने छ । समयक्रमसँगै एकपछि अर्को घटना घटित हुँदैगए । यतिधेरै कुरा परिवर्तन भए कि लेखेर साध्यै छैन । हजुर अनि हजुरको सिंगो पार्टी जनयुद्धको भूमिगत जीवनबाट सार्वजनिक जीवनमा प्रवेश गर्‍यो । संविधानसभा निर्वाचनमा हजुरहरू स्वयंले समेत कल्पना नगर्नुभएको विश्वाश नेपाली जनताले गरे । फलस्वरूप हजुरहरूको पार्टी मुलुककै ठूलो पार्टीका रूपमा स्थापित भयो । संविधानसभा निर्वाचनपछि बनेको पहिलो गणतान्त्रिक सरकारको नेतृत्व हजुरले नै गर्नुभयो । यो सबै चकत्कार देखेर दुनियाँ जिल परेको थियो । सामान्यभन्दा सामान्य नेपाली जनताले सोचेका थिए परिवर्तनको अनुभूति गर्ने दिन अब टाढा छैन, तर त्यो एउटा मृगतृष्णामा रूपान्तरण हुँदा अधिकांश नेपालीको मन रोएको छ । अनि दुनियाँ फेरि जिल परेको छ यो अर्को चमत्कार देख्दा । विश्वासघात भएपछि विश्वास गर्नेको गल्ती त पक्कै भएको होइन होला । करबि चारवर्षअघि जति हुनुपर्छ रामशाहपथतिरबाट एउटा कारगेडसहितको सवारी लावालस्करसहित आउँदैरहेछ । कारगेडको बीचमा कालो रङको जर्मन बेञ्ज कारको पछिल्लो सिटमा मोटो जुँगा भएको मोटै कदको गमक्क परेर फुलेफुले जस्तो गरेर बसेको एउटा पुरुष र दुब्लो कद कि एक महिला थिए । त्यो पुरुष हजुर हुनुहुँदोरहेछ । अनि त्यो सवारी त्यो लावा लस्कर, त्यतिबेला भर्खर राज्यशक्तिबाट च्युत गरिएको शाही परिवारको शाही सवारीसित तुलना गरें मलाई लाज लागेर आएको थियो हजुरजस्तो सर्वहारा वर्गको नेताले राजा महाराजाको जस्तो अशोभनीय ढाँचा पारेको देखेर । त्यत्ति नै बेला मेरो मनमा चिसो पसेको थियो परिवर्तन मृगतृष्णा हुन सक्छ भनेर नभन्दै भयो पनि । मजस्ता धेरैको कल्पना थियो, सार्वजनिक यातायातमा हाम्रा नेताहरु हिंडेको हेर्ने (कम्तिमा पनि मओवादी नेताहरू) जसरी नेता हुनुअघि हिँड्ने गर्थे, हजुरको कारगेडले कुल्चिएर लग्यो ति कल्पनालाई । मजस्ता धेरैले अझै बिर्सेंका छैनन हजुरले ‘नेपाललाई स्टेटम्यानको खाँचो छ । माओवादीको पहिलो श्रेणीका नेता सरकारमा जाँदैनन् देशलाई दिशा दिने नीति र नेतृत्व दिन लाग्नेछन्’, भनेर दिएको आफ्नै सर्वजनिक अभिव्यक्तिलाई । ‘क्रान्तिको आवश्यकताले गर्दा भन्ने तुरूपले छोपेर माओवादीका प्रथम श्रेणीका नेताहरू सरकारमा गए अनि हजुर आफू नै प्रधानमन्त्री हुनुभयो । मेरो आशय माओवादीका शीर्ष सरकारमा जान हुन्नथ्यो भन्ने पटक्कै होइन । तर सवाल केहो भने जाने नै भएपछि पहिला जाँदैनौ भन्नुको के औचित्य हुन्थ्यो र ? यसैले होला हामीले एउटा नयाँ पार्टीबाट थुप्रै पुराना पार्टीकाजस्तै थप एक अध्यक्ष पायौं । तर देशले राजनेता पाएन । तपाइँको पार्टी कता जादै छ ? मजस्ता धेरैलाई यो प्रश्नले बारम्बार सताउँछ । मिडियामा आउने अधिकांश सानाठूला तस्करीमा एउटा न एउटा माओवादी नेताकार्यकर्ताको नाम मुछिएकै हुन्छ । सुरुसुरुमा त मिडियाले पूर्वाग्रही भएर एकतर्फी समाचार दियो । बद्नाम गराउन खोज्यो र तपाइँहरूकै भाषामा भन्नुपर्दा माओवादीलाई घेराबन्दी गरियो भनेर चित्त बुझ्थ्यो । तर त्यसको न खण्डन आउँछ न त आन्तरिक अनुसन्धानको जानकारी नै । हुन त अब आन्तरिक अनुसन्धान गरिसाध्य छैन, कहाँबाट सुरु गर्ने, माथिबाट कि तलबाट ? सक्नेले जुटेर कमाएकै छन्, कमाउँदै छन, नसक्ने फुटेर गए । टोलटोलका गुण्डाहरू आज एउटा न एउटा संगठनको सदस्यता लिएर युद्ध सरदार बनेका छन् । यसले मओवादी पार्टीलाई कहाँ पुर्‍याउँछ हजुरले नै ख्याल गर्नुभएको छ होला । तर नेपाललाई भने ढिलोचाँडो अपराधको संस्थागत विकास र राजनीतिको अपराधिकरकै दिशामा पुर्‍याउँछ, पुरानो बिहारजस्तै । हिजो जुन बाटो अन्य पार्टीले समातेका थिए र जुन बाटोको माओवादीले सधैं विरोध गर्‍यो । आज तीव्र गतिमा माओवादीस्वयम्, त्यही बाटोमा अग्रहसर भएको छ ।
मजस्ता धेरै तिनछक त त्यतिबेला परेका थियौँ । जतिबेला हजुर कि आफ्नै नातिनी सेन्ट म्यारिज स्कुलमा पढ्नुहुन्छ भन्नेकुरा बीबीसी नेपाली सेवामार्फता सुनियो । अचम्म त केछ भने मओवादी विद्यार्थी संगठन घोक्रो फुट्ने गरी निजी विद्यालय बन्द गर भन्दै हिँडिरहेको छ । जब कि आफ्नै नेताका छोराछोरी महंगा निजी विद्यालयमा पढिरहेका छन् । सायद यही रहेछ हजुरहरुले भन्ने गरेको जनवादी शिक्षा । राष्ट्रको शिक्षाको मेरुदण्ड निजी विद्यालय हुनैसक्दैनन् । यो साँचो कुरा हो । संसारभरिका अधिकांश पुँजीवादी मुलुकमासमेत शिक्षामा राज्यको लगानी र नियन्त्रण उल्लेख्यरुपमा हुनेगर्छ र बहुसंख्यक विद्यार्थी सरकारी शिक्षालयमै जान्छन् । माओवादी नेताका दर्शन र व्यवहारमा यति ठूलो भिन्नता हुनसक्छ भन्ने म कल्पना पनि गर्न सक्दिन । यदि तपाइँहरु आफैं आफ्नो दर्शनअनुसारको व्यवहार गर्न सक्नुहुन्न, आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन सक्नुहुन्न भने अरुका छोराछोरीलाई निजी विद्यालयमा नपढ र निजी शिक्षालय बन्द गर भन्ने हजुरहरुसित कुनै नैतिक अधिकार छैन । जनताले कल्पना गरेका थिए नेताका छोराछोरी पनि अब सर्वसाधारणका छोराछोरीसरह सरकारी विद्यालय जानेछन् । अनि त्यतिखेर सरकारी विद्यालयको गुणस्तर बढ्नेछ, तर पहिलो गाँसमै ढुङगा लागेजस्तो भयो । माओवादी शिक्षामन्त्री दीनानाथ शर्मा यही हो हामीले भन्ने गरेको जनवादी शिक्षा भन्दै हिड्नुभएको छ ।
हिजोभन्दा आज, आजभन्दा भोलि धेरै माओवादी नेता कार्यकर्ताको जीवनशैली प्रकाशको गतिमा परिवर्तन भएको देख्न पाइएको छ । निजी टेलिभिजन, रेडियो, पत्रिका, अस्पताल, बैंकलगायतमा लगानी गर्ने हैसियतमा धेरै माओवादी नेता पुगिसके यो कुरा जनताबाट एउटा सियोसमेत नलिनु भन्ने चिनियाँ क्रान्तिका नायक माओका खास अनुयायी भन्न रुचाउने माओवादीहरु नै जानुन् । जनयुद्ध अन्ततः धनयुद्धमा परिणत भएको छ । माओवादीका सामान्यभन्दा सामान्य नेतासेमत आजभोलि महँगो मोबाइल बोक्छन, महँगो गाडी चड्छन् । सर्वहारा पार्टी अहिले हेर्दाहेदै सबैभन्दा धेरै गाडी भएको पार्टी हुनपुगेको छ । माओवादी नेताका रोजाइमा आजकल महँगा होटल र क्याफेहरू पर्ने गर्छन् । यो देख्दा अचम्म लाग्छ । हजुरलाई हेक्का छ कि छैन माओवादी नेताका यि मोबाइल, आइफोन, आइप्याड मात्र लिलामीमा बेच्ने हो भनेपनि कम्तिमा एउटा सुविधासम्पन्न स्वास्थ्यचौकी बन्छ । गाडी र घरका त कुरा नगरौँ । अवस्था यस्तो क छि कमिसन नआउने ठाउँमा माओवादी भेट्नै गाह्रो, कमिसन आउने ठाउँमा माओवादीबाट बच्नै गाह्रो । यो् क्रान्तिको आवश्यकता भन्ने कुरापनि विचित्रको हुँदोरहेछ । हुन त जोगी बन्न कोसैले राजनीति गर्ने होइन र माओवादी भन्ने बित्तिकै झुत्रेझात्रे नै हुनुपर्छ भन्ने पक्कै होइन । तथापि, सर्वहारा वर्गको अग्रदस्ता दाबी गर्ने पार्टीमा वर्ग उत्थान हुनु नपच्ने विषय हो भनेर स्मरणमात्र गराएको हुँ । मजस्ता धेरैको कल्पना थियो, माओवादी नेताहरुले क्युवामा चे गुएभाराले गरेजस्तो मजदुरहरूसित सधैं सम्भव नभए पनि कम्तिमा महिनामा एकदिन श्रम गर्ने छन् । कल्पनामा एउटा मजदुर आफ्नै नेतासित एकदिन, एकघण्टा वा एकमिनट नै किन नहोस्, सँगै काम गर्न पाउँदा कतिधेरै उर्जाले भरिएको देखिन्थ्यो होला ? यी सब कल्पनामै सीमित भएका छन् ।
हेर्दाहेर्दै अधिकांश माओवादी नेता चिल्ला भए, भुँडी हेर्दा खान्दानी व्यापारीजस्तै देखिन थाले बिडम्बना श्रम र माओवादी नेताबीचको दूरी कहिल्यै घटेन । बरु बढेको बढ्यै भइरहृयो । ‘संसारभरका मजदुरहरू एक होऔँ’, भन्ने नाराको मुन्तिर मजदुरले मजदुर कुटेको दुर्लभ दृश्य माओवादीको मजदुर संगठनमा देख्न पाइयो । लाजले सबै भुतुक्कै भए । कर छलेर अकुत सम्पति जोडेका राष्ट्रघाती व्यापारी अहिले माओवादी नेताका नजिकका विस्वाशपात्र भएका छन । अध्यक्ष कमरेड स्वयंले कति गन्हाएका व्यापारीका घरमा गएर खाना खानुभएको छ । कुन नैतिकताले दिन्छ हजुरहरुलाई व्यापारीको घरघर चाहार्न । विभिन्न शक्ति केन्द्रसित हुने वार्ताका मध्यस्तकर्ता आजकल व्यापारी हुनथालेका छन् । संसारमा सबैभन्दा छिटो वर्ग र चरित्र परिवर्तन गर्नसक्ने व्यापारी हुन्, जसले सधैं आफ्नो लगानीको प्रत्युत्तर नाफामा खोज्छन् ढिलो होस् या चाँडो । अलिकति संघीयताको कुरागर्न मनथियो हजुरसित । जातीय संघीयता के साँच्चै हजुरले भनेजस्तै नेपालको सबै संकट मोचनको अचुक ब्रम्हास्त्र हो, कि यो पनि राजतन्त्र फालेपछि नेपालका सबै समस्या स्वत? समाधान हुन्छन् भनेर नारायणहिटी दरबारका शाहको ठाउँमा लैनचौर दुतावासका सुद, प्रशाद, मेहता र मुनी ल्याएर राखेजस्तो हो ? जर्मनी, स्विट्जरल्यान्ड अमेरिकाको संघीयताको सफल उदाहरण दिने तपाइँहरुले गहिराइमा पुगेर बहुआयामिकरुपले त्यहाँको समाजको बनोट र आर्थिक स्थितिको हाम्रो मुलुकसँग तुलना गर्नुभएको पक्कै होला । विश्व भू-राजनीतिको संवेदनशील स्थानमा रहेको हाम्रो मुलुकले के संघीयता धान्नसक्छ ? त्यो पनि आत्मनिर्णयको अधिकारसहितको जातीय संघीयता ? हजुरजस्तो विश्वलाई चमत्कार गरेर देखायौं भन्नेले रुवान्डा, बाङलादेश र योगोस्लाभियाका बारेमा पनि पक्कै जानकारी राख्नुभएकै होला । मान्छे उचाल्नु र अनुशासनमा राखेर नियम/कानुनअनुसार हिँडाउन सक्नु दुई भिन्न कुरा रहेछन । यी दुईबीच ठूलो फरक हुँदोरहेछ । लगभग एउटा क्रान्ति गरेजत्तिको फरक । हजुरहरुलाई स्वीकार्न अप्ठेरो भएको मात्रै हो, नढाँटी भन्नुपर्दा हजुरहरु आफैंले उठाएको यो जातीयता र संघीयताको मुद्धा कस्तो गलगाड भएको छ । दुनियाँका अगाडि झुठो बोल्न सकिन्छ तर ऐनाका अगाडि उभिएर आफ्नै अनुहारमा हेरेर झुटो बोल्न सकिँदैन । अझ नाङ्गै ऐना अगाडि उभिँदा । प्रायः विकसित मुलुकहरू अहिले बहुभाषिक, बहुसास्कृतिक अनी मश्रित समाजको निम्ति किन लागि रहेका छन हजुरहरुले मनन् गर्नुभएको छ ? राजनीतिक संस्कारको विकास हुननसक्नु हाम्रा लागि ठूलो बिडम्बना भयो । राजनीतिक पार्टीको सदस्यता अथवा राजनीतिक सक्रियताको अर्थ नियमकानुन सबैभन्दा माथि भन्ने गलत अर्थ लाग्नथाल्यो । यही एउटा गल्ती पुराना राजनीतिक दलहरुले गरेका थिए । जसको फलस्वरप मओवादीले जनताको बेजोड सहनुभूति पाएको हो । आज फेरि माओवादी त्यही गल्ती गर्दैछ, पुराना दलभन्दा पनि द्रुत गतिमा ।
हजुरहरुले पनि थुप्रैपटक खुलामञ्चमा चर्को भाषण गर्नुभयो । प्रतिक्रियामा चर्को तालीका गड्गडाहट पाउनुभयो तर हजुरहरूले जनतासामु यथार्थ ओकल्न सक्नुभएन । हाम्रो राजनीतिको रोगलाई जनतासामु ल्याइदिन सक्नुभएन । हजुरहरुले भन्न सक्नुभएन, उद्योगका मजदुर साथीहरु काम नगरी खान पाइन्छ भनेर यदि हाम्रो पार्टीमा लाग्नुभएको हो भने गलत हुनुहुन्छ । यातायात मजदुर साथीहरू हाम्रो पार्टीमा लाग्नुको अर्थ मनलाग्दो भाडा उठाउनपाउनु भन्ने होइन, व्यापारी महोदयहरु नेताको नजिकहुनु र राजनीतिक दल र तिनका भातृ संगठनलाई चन्दा दिनुको अर्थ राज्यलाई कर बुझाउनुपर्दैन भन्ने होइन । शक्षक साथीहरुलाई पनि भन्नुभएन हाम्रो पार्टीमा लाग्नुको अर्थ शिक्षालयको मर्यदाविपरीत बढी राजनीतिक गतिविधि अनि शैक्षिक थोरै शैक्षिक गतिविधि गर्दा पनि तलब पाइन्छ भन्ने पटक्कै होइन । कर्मचारीलाई बुझाउन सक्नुभएन हाम्रो पार्टीमा लाग्नुको अर्थ ढिलो कार्यालय गएर छिटो र्फकन पाइन्छ भन्ने होइन । विद्यार्थीलाई पनि भन्न सक्नुभएन हाम्रो पार्टीमा लाग्नुको अर्थ पढ्दैनपढी परीक्षामा पासभइन्छ भन्ने कदापि होइन । गल्ती यहाँनेर भएकोरहेछ अध्यक्ष महोदय, हाम्रो पार्टीमा लाग्नुको अर्थ कर्म गर्दागर्दै समान अवसारबाट वञ्चित हुनुभयो भने शोषणमा पर्नुभयो भने एक्लै हुनुहुन्न हामी छौ । भन्ने हो तर कर्तव्य बिर्सिएर अधिकार मात्रै खोज्नु कदापि होइन भनेर बुझाउन सक्नुभएन हजुरहरुले । हजुरहरुले सम्पत्तिको समान वितरणबाट हो वा अवसरको समान वितरण र उपलब्धताबाट समाजवाद खोजेको हो भनेर बुझाउन हजुरहरु असफल भएकै हो । म ठोकुवाका साथ भन्नसक्छु । परिवर्तित राजनीतिक परिवेशले जन्माएको बाध्यात्मक अवस्थामा अचानक हजुरहरुको पार्टीतर्फ बढेको एउटा ठूलो भिड देखेर हजुरहरु आवश्यकताभन्दा धेरै उचालिनुभएकै हो । स्वार्थको भारी बोकेर लम्केको त्यो अवसरबादी नवमाओवदीको भिडले अहिले हजुरहरुको पार्टीलाई यसरी घेरेको छ, कि त्यसलाई चिर्न हजुरहरुको पार्टीभित्र अर्को जनयुद्ध चाहिएको छ । त्यो अवसरवादी भिडले हिजो पञ्चायतलाई, पूराना राजनीतिक दललाई अनि राजा ज्ञानेन्द्रलाई पनि यसरी नै घेरेको थियो । जसको नतिजा हामी सबैको सामु छ । समग्र पार्टी पंक्तिमा अजय सुमार्गीपथले प्रचण्डपथलाई विस्थापन गर्‍यो भन्ने आवाज उठ्न थालेको छ । अब अलिकति मलाई सहिद अनि घाइते परिवारका कुरा गर्नुछ हजुरसित । हजुरहरुले उठाएका राजनीतिक मुद्दालाई सफल बनाउन थुप्रै आमाहरुले आफ्ना छोराछोरी हासीँहाँसी हजुरहरुलाई सुम्पिए । हजुरहरु पार्टी हेर्डक्वाटर जोगाउन भन्दै मुनीको मुन्तिर परजिवी भएर बस्दा आधारइलाकाको परालमा सल्कन नसकेको जनयुद्धको फिलिंगोलाई देशै भरिको फराकिलो जंगलमा डँढेलो बनाउने तिनै आमाका छोराछेारीहरु थिए ।
आज यो लामो कालखण्डपछि कति आमाका छोराछोरी फकिर्एर आए कतिका मरेर गए कतिका गुमनाम भए, कतिका अंगभंग भए । घरमामूली नहुँदा, कलकलाउँदो उमेरको छोरा नहुँदा, बूढेशकालका लागि भनेर जोगाएर हुर्काएका सन्तान अंगभंग भएर जिन्दगीभरि तिनको स्याहार सुसार गर्नुपर्दा कस्तो हुन्छ होला ? मैले कहिले अनुभव गरेको छैन, मेरा बा आमा, दिदी बहिनी, दाजुभाई दुरुस्त हजुरको परिवारमाजस्तै सकुशल छन । हजुरहरुका सन्तान निजी विद्यालयमा पढिरहँदा हजारौं सहिद, घाइते र बेपत्ताका छोराछोरीले सरकारी विद्यालयसम्म देख्नपाएका छैनन् । अरु त अरु विदेशबाट आउने छात्रवृत्तिका कोटामासमेत हजुर नेताहरुकै छोराछोरी पढ्नजान थालेका रहेछन । हजुरहरु थापाथलीको नभिर्क अस्पतालमा उपचार गराउन जाँदा सहिद, घाइते र बेपत्ताका परिवारले सामान्य स्वास्थ्यचौकीमा समेत उपचार पाएका छैनन । कुरागरी साध्य छैन, मर्ने त मरेर गए बाँच्नेको कन्तबिजोग भएको छ । हजुरहरु त ‘रुँदारुँदै हाँस्ने र हाँस्दाहाँस्दै रुनसक्ने” मान्छे, । शोकलाई शक्तिमा बदल्नसक्ने मान्छे” तर कहाँ सबै आमाहरुसित त्यस्तो खुबी हुन्छ र कमरेड ? हजुरहरुले आफ्नो कपालमा लगाउनुभएको जेल क्रान्तिको आवश्यकता हुँदोरहेछ भोकभोकै, उपचार र शिक्षा नपाएर तड्पिएका सहिद र घाइते परिवारको बिजोग क्रान्किा लागि त्याग ।
म चिच्याएर भन्छु हजुरहरुले सुनेपनि नसुने पनि यस्तो त्याग स्वीकार्य नहोस् कसैलाई पनि । खै कसलाई के भन्ने, सपना देख्नु अपराध भयो , विश्वाश गर्नु अपराध भयो । हजुरहरुको यो नैतिक पतन अनि राजनीतिक स्खलनले हजुरहरुलाई त फाइदै पगुको होला । तर वामपन्थी आन्दोलन कम्तिमा ५० वर्ष पछाडि धकेलिएको छ र बद्नाम भएको छ । न्यायप्रेमी जनताका लागि योभन्दा ठूलो धोखा केही हुँन सक्दैन । अबको २५ वर्षपछि केका लागि सम्झने हजुरहरुलाई ? जवाफ दिनुस् नेपाली जनतालाई कि हामीले योयो गरेका छौँ र यसका लागि सम्भिmनू भनेर । समाजवादको सपना देखाउनेहरुको विपना यस्तै हुन्छ कमरेड ? आफ्ना मान्यताहरु कति सहीछन भनेर अरुसित सोध्नुपर्दैन आफ्ना जीवनमा आफूले कति गर्नसक्छु भनेर मूल्याङ्कन गर्दा हुन्छ । व्यक्तिगत लोभलालचाले हजुरहरुको जयजयकार गर्नेहरु अनि हजुरहरुले गर्ने गलत क्रियाकलापलाई पनि सही भनेर प्रचार गर्नेहरुले हजुरहरुलाई निस्चयनै धृतराष्ट्र बनाउँछन अनि मुलुकलाई लालनोकरशाहीले भरिएर अन्ततः टुक्राटुक्रामा विघटित पूर्वसोभियत संघजस्तै । लाखौंको सहादतले स्थापित लेनिनको समाजवादी सोभियतसंघ विघटन हुँदा लगभग कुनै रक्तपात र प्रतिकार नै भएन यसको मुख्य कारण न त विश्व बैंक थियो । न त अन्तर्राष्ट्रिय मुद्राकोष र अमेरिका नै थिए । मुख्य कारण त सोभियत संघभित्रको लालनोकरशाही प्रवृत्ति थियो भन्ने कुरा दुनियाँलाई थाहा छ । हिजो लालनोकरशाही प्रवृत्तिको कमी थियो माओवादीभित्र आज नारायणकाजी श्रेष्ठ र अजय सुमार्गीहरुले त्यो कमी पुरा गरिदिएका छन । प्रभुका कुरा, संविधानका कुरा, शान्तिका कुरा, निर्वाचनका कुरा, सेनाका कुरा, ४० बुँदेका कुरा, राष्ट्रियताका कुरा, साम्राज्यवाद, विस्तारवादका कुरा, १० वर्षमा नेपाललाई स्विट्जरल्यान्ड बनाउने भन्दै स्विट्जरल्यान्ड हेर्न आउने काइते कुरा । कुरै कुरा कुरै कुरा ………. कुर हरु अरु कति हो कति बाँकी रहेछन ।
हेर्नु न सिलसिला मिलाएर हजुरहरुलाई एउटा पत्र लेख्छु भनेको थिएँ के भयो के भयो, सपनाहरुको क्रमभङ्ग हुँदा यस्तैहुँदो हो शायद” । अनिल बार्बेको थ्याङ्क यू मिस्टर ग्ल्याड, आमा उपन्यासको छोरा अथवा त्यो उक्रैनी उपन्यासका हरफबाट यथार्थमा आउँदा सादय हजुरहरुजस्तै हुँदाहुन आखिर हजुरहरुजस्तैले कल्पना गरेका पात्रे परे तिनीहरु पनि । खुला राजनीतिमा ढिलोचाँडो सबैको स्वखलन हुनेरहेछ भनेर मान्नु पर्ला अबदेखि । बोकाको टाउको देखाएर कुकुरको मासु मौका मिल्दा सबैले बेच्दा रहेछन देखियो केही गुनासो रहेन । संसदीय व्यवस्था अजिवको हुँदोरहेछ, यो व्यवस्थामा जति नै क्रान्तिकारी नेता छिराए पनि निस्कने एउटै गोत्रका हुँदारहेछन् । सबै वाग्ले ,जोशी, खड्का र गुप्ताहरु । ‘सुकाइदे गाडभन्दा थापाइ दे गाड’ भन्ने एउटा उखान छ नि त्यस्तै समस्या श्रीजनाका लागि त अरु पार्टीहरु नै काफी छँदैथिए नि, जनताले माओवादी पालेको त समस्या समाधानका लागि थियो । ‘केके न गर्ला झैं गरेर आएको थियो, केही नगरी गयो’ भनेजस्तै भएको छ अहिले । मजस्ता धेरै जो राजनीतिका विद्यार्थी होइनन् जसले कुनै ठेली घोकेका पनि छैनन् । तिनले जनयुद्धको व्याकरण, माक्र्सवादको श्रृजनात्मक प्रयोग, क्रान्तिको आवश्यकता र जगत तपाइँहरुलेजस्तो दुरुस्त नबुझेका पनि हुनसक्छन् । तर मजस्ता धेरैले के बुझे यो कालखण्डमा भने क्रान्ति अनि सिद्धान्तको कुरा गर्नुभन्दा महत्वपूर्ण र कठिन त्यसलाई व्यवहारमा लागू गर्नुहुँदोरहेछ नि कागजमा लेखिएर थन्किने मिथक सिद्धान्तभन्दा दैनिक जीवनमा जनतलाई राहत महसुस हुने सानोभन्दा सानो कदम पनि समाजवाद हो, जुन हजुरहरुबाट अपेक्षा गरेका थिए तर पुरा भएनन । यदी यही गति दिशामा माओवादी रहने हो भने ‘वस्तुको उपयोगीताले त्यसको उपयोग मूल्य निर्धारण गर्दछ’, भन्ने कार्ल माक्र्सको उक्तिजस्तै जनताले हजुरहरुको पनि मूल्य निर्धारण गर्नेछन् । अनि जनताको विद्रोह गर्नपाउने अधिकारलाई संस्थागत गरेर अहिले मृत्यु शैय्यामा रहेको दस्तावेजलाई कुनैदिन जनताले आफ्नो रक्षाका लागि प्रयोग गर्नेछन् हजुरहरुकाविरुद्ध भन्ने कुरामा मजस्ता धेरै विस्वश्त छन -जुन व्यवहारमा देखिन पनि थालेसक्यो । तसर्थ ढिलो अझै भएकोछैन समयले नेटो अझै काटेको छैन चेतना होस् कमरेड ।
हजुरहरुको शुभचिन्तक
सुवर्णबाबु सापकोटा (हाल फाइवर्ग युनिर्भसीटी जर्मनी)

आफ्नो ज्यान एकदमै सेक्सी लाग्छ


नेपाली सिनेमा क्षेत्रका लागि नायिका तथा निर्मात्री उमा बेबी कुनै नौलो नाम होइन । सिरियल हुदै नेपाली सिनेमामा प्रवेश गरेकी उमा निरन्तर सिनेमा बनाउने बताउछिन् । भोजपुरी, बंगाली सिनेमामा समते अभिनय गरिसकेकी उमाले बनाएको चलचित्र ईशारा कात्तिक १७ गतेबाट रिलिजमा आउदैछ । नायिका तथा निर्मात्री उमा बेबीसँग गरेको कुराकानी :
 कस्तो चल्दैछ जिन्दगी ?
चलिरहेको छ ईशारा गर्दै हा.हा…………… ।
सिनेमा बनाएर नायिका बन्न आउनु भएको कि नायिका बन्दै सिनेमा बनाउने सोचका साथ आउनु भएको ?
म शुरुवातमा नायिका हुँ । माया गर्छु तिमिलाइ, जुनेली, देशदेखि विदेश, मेरो एउटा साथी छ, माझी मामा, तोड, सपथ लगायतका सिनेमामा मैले अभिनय गरेको छु । यस्तै थुप्रै भोजपुरी र बंगाली सिनेमा समेत मैले खेलेको छु । सिनेमालाई बुझ्दै म निर्मात्री भएको हो ।
कत्तिको गाह्रो छ महिलाहरुलाई सिनेमा बनाउन र रिलिज गर्नका लागि ?
सिनेमा बनाउनु भन्दा पनि रिलिज गर्नका लागि गाह्रो छ, यहाँ । अर्कोतिर सिनेमाको प्रतिस्पर्धा यतिधेरै छ कि के भन्ने । दर्शकको रोजाई पनि बुझ्न नसकिने छ ।
सिनेमा बनाउने सोच कसरी आयो ?
म सानैदेखि सिनेमा क्षेत्रमा नै लागेकाले निर्माण गर्ने योजना पनि थियो । मेरो गुरु तुलसी घिमिरेसँग मैले सिनेमा बनाउने बिषयमा कुरा गरेको थिएँ । योजना बनाएरै मैले सिनेमा निर्माणमा हात हालेको हो ।
आफैंले बनाएका सिनेमामा आफैं खेल्नुको कारण अरुले नायिका नलिएर हो ?
मैले आफ्नो ईच्छाको लागि सिनेमा बनाएको हो । फेरि मैले बनाएको सिनेमामा म नै सुहाउँछु भने अरुलाई किन लिनु, होईन र ? यसैले म आफैँ खेल्ने निर्णय गरे ।
ईशारा कस्तो सिनेमा हो ?
यो चलचित्र नारी प्रधान छ । छोरीमाथि हुने हिंसा, बलात्कार आदिलाई सिनेमाले उठान गर्न खोजेको छ । पछिल्लो समयमा बढेको मोवाईल प्रविधिले युवायुवती माझ विकृति बढेको छ ।
 सिनेमा क्षेत्रबाट अस्ताएका नायकहरु लिनुको कारण ?
मलाई नायकद्वय भुपेन चन्द र उत्तम प्रधान अस्ताएका नायक हुन जस्तो लाग्दैन । उनीहरु कुनै समयका हिट नायक हुन् । यसैले उनीहरु पुनः ईशारा मार्फत नेपाली सिनेमामा आएका छन् ।
अब सिनेमा बनाउने सोच छ कि छैन ?
म निरन्तर सिनेमा बनाउँछु । ईशारा रिलिज भए लगतै अर्को सिनेमा बनाउने सोच मेरो छ ।
महिलाहरुलाई त यहाँ टिक्न साह्रै गाह्रो हुन्छ भन्छन्, तपाईलाई कत्तिको गाह्रो भएको छ ?
म सबैसँग मिसिन चाहन्न । मलाई कसैले सिनेमा खेलाईदिन्छु, कफी खान आऊ, भेट्न आऊ भन्दैमा जाँदिन । सिनेमामा रहेको भूमिका तपाईंकै लागि हो भनेर कसैले भन्यो भने मात्र म अभिनय गर्न राजी हुन्छु । सिनेमाको उपत्यका बाहिरको रिलिजको जिम्मा मेरो दाईले लिनुभएको छ । म काठमाडौंभित्र मात्र हेर्दैछु । यसैले मैले कुनै अप्ठ्यारो भोगेको छैन ।
कसरी बुझ्नु भयो नेपाली चलचित्रलाई ?
नेपाली चलचित्र पहिलो कुरा त बिदेशी सिनेमाको अतिक्रमणले हैरानी व्यहोर्न वाध्य छ । यहा सिनेमा नै चलिरहेका छैनन् । मार्केटिङ पनि खासै राम्रोसँग भएको पाइन मैले ।
एकछिन तपाईको व्यक्तिगत कुरा गरौं न, के मिठो पकाउनुहुन्छ ?
खसीको मासु एकदमै मिठो पकाउँछु । पराठा पनि मिठो नै पकाउँछु ।
कस्तो पहिरनमा आफु खुबै सेक्सी देखिन्छु जस्तो लाग्यो ?
मलाई सारी लगाउँदा सबैले सेक्सी भन्छन् ।
आफ्नो कुन अंगले युवकहरुलाई आकर्षण गर्छ जस्तो लाग्छ ?
आँखाले जस्तो लाग्छ । धेरैले मलाई तपाईको आँखा नशालु छ भन्छन् । मलाई आफू एकदमै राम्री छु जस्तो लाग्दैन । तर म नराम्री पनि होईन ।
पहिलो प्रेम याद छ ?
किन याद नहुनु । फेरि पहिलो प्रेम कसले बिर्सन सक्छ र ? म स्कूल पढ्दा एकजना कलेज पढ्ने युवकसँग माया बसेको थियो । डेटमा गईन्थ्यो, चकलेट खाईन्थ्यो । तर हाम्रो प्रेम ६ महिना भन्दा बढी टिकेन । यसपछि पनि जीवनमा केही युवकहरु आए । तर गहिरो प्रेम भने भएन ।
पहिलो चुम्बन कहिले भयो ?
मैले चुम्बनको अनुभव पनि मेरो पहिलो प्रेमीसँग नै गरें ।
नेपालको कुन कलाकारले तपाईलाई आकर्षण गर्छ ?
मेरो आँखाले त्यस्तो कोही पनि देखेको छैन । भुवन के.सी.को हँसाई र मुस्कान भने खुवै मनपर्छ ।
तपाईलाई डेटमा जान मन लाग्ने कुनै सेलिब्रेटी छ ?
त्यस्तो नजरले कोहीप्रति मन आकषिर्त भएको छैन ।
नेपालमा आफ्नो पर्सानालिटी मेन्टेन गर्ने नायक को लाग्छ ?
राजेश हमाल नै लाग्छ ।
राजेश हमालले डेटमा जान अफर गर्नु भयो भने ?
कफी खानका लागि भने म जान्छु ।
आफ्नो शरीर कहिलेकाहीँ ऐनामा नाङ्गै हेर्दा कस्तो लाग्छ ?
म कुनै किसिमका योगा अभ्यास गर्दिन । तर पनि मेरो शरिर सुन्दर छ । न म क्लब जान्छु, न म डाईटिङ नै गर्छु । तर पनि म सधैं उस्तै छु । मलाई मेरो शरीर भगवानले उपहार दिए जस्तो लाग्छ । आफ्नो ज्यान एकदमै सेक्सी लाग्छ मलाई ।
चलचित्र ईशारा दर्शकले सय रुपैंयाको टिकट काटेर किन हेर्न जाने ?
सबैभन्दा पहिला हामीले ईशारा गरेका छौं । मलाई लाग्छ हाम्रो ईशारा दर्शकले वुझेर हलसम्म जानुहुन्छ ।